काठमाडौं – उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युत उत्पादन गर्ने लाइसेन्स लिएर विद्युत उत्पादन नगर्ने कम्पनीको पीपीए खारेज गर्ने बताएकी छन्।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै मन्त्री भुसालले सरकार विद्युत उत्पादन गर्नको लागि अनुमति पत्र (लाइसेन्स) लिएर पीपीए गर्ने तर विद्युत उत्पादन नगर्ने कम्पनीको पीपीए खारेज गर्ने तयारीमा रहेको बताइन्।
उनले पछिल्लो समय सरकारसँग करिब १६ सय मेगावाट जलविद्युत आयोजनाहरु टेक एण्ड पे प्रावधानमा पीपीए भएर पनि निर्माण कार्य नभएको भन्दै पीपीए खोरज गर्ने बताइन्। जलविद्युत आयोजनाको निर्माण कार्य नगर्ने तर खोला नदी ओगटेर बस्ने प्रविधिको अन्त्य गरिने पनि बताइन्।
उनले वास्तविक विद्युत उत्पादन कम्पनीहरुलाई प्रोत्साहन गर्ने र पीपीए गरेर काम नगर्नेलाई पीपीए खोरज गर्ने पक्षमा मन्त्रालयले छलफल गरिरहेको बताइन्। टेक एण्ड पेमा आधारित विद्युत खरिद सम्झौता भएकाले उत्पादन भएको विद्युत बिक्री गर्न नसके ठूलो मात्रामा वित्तीय जोखिम बढ्ने उनको भनाइ छ।
उनले नेपालको विद्युत प्रसारण लाइन र बजार जोखिम दुवैको मूल्याङ्कन र विश्लेषण गर्नु आवश्यक भएको बताइन्। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको बताइन्।
मन्त्री भुसालले भारतसँग थप विद्युत व्यापार गर्नको लागि आवश्यक कुटनीतिक र राजनीतिक छलफल जारी रहेको बताइन्। यही प्रतिनिधि सभाको अधिवेशनबाट नयाँ विद्युत ऐन पेस गरेर पास गर्ने तयारी गरेको उनले जानकारी दिइन्।
