पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह – Himalayan Dainik

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह


पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

काठमाडौँ – आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नु गरेका हुन । उनले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ । आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १० देखि १४ वर्ष उमेर समूहका १० हजार जना किशोरीलाई खोप लगाइने छ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । उनका अनुसार कोशीमा कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म, मधेसमा नारायणी अस्पतालमा २९ देखि ३१ गतेसम्म, बाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा २७ देखि ३० गतेसम्म खोप लगाइने छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा २७ गतेदेखि २९ गतेसम्म खोप लगाइने छ । यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो ।