सुनको औंठीसमेत नलगाउने आफूलाई बोक्नै नसक्ने सुन लगाइदिएको फोटो बनाएर कुप्रचार गरे : अध्यक्ष ओली – Himalayan Dainik

सुनको औंठीसमेत नलगाउने आफूलाई बोक्नै नसक्ने सुन लगाइदिएको फोटो बनाएर कुप्रचार गरे : अध्यक्ष ओली


सुनको औंठीसमेत नलगाउने आफूलाई बोक्नै नसक्ने सुन लगाइदिएको फोटो बनाएर कुप्रचार गरे : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक संजालमा आफूविरुद्ध कुप्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।

सुनको औंठीसमेत नलगाउने आफूलाई बोक्नै नसक्ने सुन लगाइदिएको फोटो बनाएर प्रचार गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो। राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ मैले सानो छँदा आमा बितेर गएपछि आमाको औंठी चार दिनजति लगाएँ । आमाको सम्झना आएर हडबडी हुन थालेपछि मैले त्यो लगाउन छोँडे, त्यस्तै एउटा साथीले पनि सुनको औंठी उपहार दिएको थियो । त्यो पनि दिनभरी लगाएँ, त्यसपछि फुकालेर राखेँ कसले लग्यो थाहा छैन।’

पशुपतिनाथमा सुनको जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय बाहिर आएपछि झपक्कै सुन लगाएको फोटोमा अध्यक्ष ओलीको टाउको जोडेर सामाजिक संजालमा भाइरल भएको छ। त्यसैतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन्। सत्य जे हो त्यो पो उजागर गर्ने त। जे मन लाग्यो त्यही गर्ने छाडा प्रवृत्ति बढ्दै गएको छ।’ उहाँले भन्नुभयो, युट्युव हेर्ने एकान्त कुनातिर पस्नुपर्छ। कुन बेला लाजमर्दो हुने हो, कतिबेला के आउने हो ठेगान छैन।’

जसका पुर्खाले सभ्यता र संस्कृतिको सुरुवात गरे, जहाँबाट ज्ञान र सभ्यता सुरु भयो त्यो धर्ती आज के बोल्ने के नबोल्ने भन्ने बारे बन्देज नै नभएको अवस्थामा पुगेको उहाँले बताउनुभयो । नेपाली समाजको सभ्यता र संस्कृति नै धरापमा परेको ओलीको भनाइ छ।

सुकार्यबाट नै धर्म, प्रसन्नता र सुख प्राप्त हुने ओलीले बताउनुभयो। अर्थतन्त्र बिग्रियो भने केही समयमा सुध्रिने भए पनि समाज बिग्रियो भने सुध्रन धेरै समय लाग्ने ओलीको भनाइ छ। यसले देश बिग्रँदै गएको भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयो।