स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या – Himalayan Dainik

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या


स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

काठमाडौँ – तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ रु तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् किरु समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ ।

काठमाडौँकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन् । घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल जान नमान्ने र खानसमेत नमान्नेजस्ता गतिविधि उनले देखाउन थालिन् । यी समस्यामा सुधार नआएपछि अभिभावकले उनलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्‍याए । केन्द्रकी मनोविद् करुणा कुँवरले बालिका र अभिभावक दुवैलाई परामर्श दिइन् । ती बालिकालाई सानै उमेरदेखि स्मार्ट फोन चलाउने लत परेको थियो ।

उनले मोबाइल नपाएको बखत समस्या झनै चर्को हुन्थ्यो । लामो समय स्मार्ट फोन चलाएकाले उनको आनीबानीमा समस्या देखिएको हो। समस्या निक्र्योल भएपछि मनोविद् कुँवरले पटक–पटक परामर्श दिनुपर्‍यो । गत फागुनमा काठमाडौँकै अर्की ११ वर्षीया बालिकामा धेरै चकचक गर्ने, जे मन लाग्यो त्यही बोल्ने, तौैल धेरै बढ्ने, राति कम सुत्ने, निद्रामा बर्बराउने, स्कुल जान नमान्नेजस्ता समस्या देखिए । अभिभावकले ती बालिकालाई पनि मानसिक तथा स्वास्थ्य परामर्श केन्द्रमा पुर्‍याए । पटकपटकको परामर्शपछि ती बालिकामा देखा परेका समस्या हराउँदै गए ।

घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन् । तर उनीहरूको अध्ययन भएको छैन । परामर्श केन्द्रकी मनोविद् कुँवरका अनुसार सातामा सेवा दिने १५ जनामध्ये दुईमा स्मार्ट फोनको लतले विभिन्न समस्या निम्ताएको पाइएको छ । कान्ति बाल अस्पतालको मानसिक विभागमा दैनिक उपचारका लागि जाने ४० जनामा दुईरतीनजना स्मार्ट फोनले निम्ताएका मनोसमस्याका बिरामी हुन्छन् । औसतमा मासिक यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्या ७२ छ ।