काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे।
‘संसदीय छानबिन समिति गठन गरौँ। त्यो सुन कसले खायोरु नैतिक हिसाबले सरकारको नेतृत्व गरेको नाताले तत्कालीन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ। तर, व्यक्तिगत हिसाबले किटान गरिएको थिएन,’ उनले भने, ‘उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको हो। मैले कहीँ संसदीय मर्यादा उल्लंघन गरेको छैन। मेरो बोल्न पाउने अधिकार मसँग सुरक्षित छ नि। मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ। कसैको अधिकारमाथि हस्तक्षेप गरेको छैन।’