प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति तय: यस्ता छन् एजेण्डा – Himalayan Dainik

प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति तय: यस्ता छन् एजेण्डा


प्रधानमन्त्री दाहालको भारत भ्रमणको मिति तय: यस्ता छन् एजेण्डा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् ।

चारदिने भ्रमणलाई मध्यनजर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्रता दिएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले पनि भ्रमणको गृहकार्य भइरहेको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको गृहकार्य भइरहेको छ, केही दिनमै औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक हुनेछ,’ उनले कान्तिपुरसँग भने ।

वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री दाहालको भ्रमण रोकिएको थियो । परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । सोही दिन उनलाई भारतका विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा मोदी र दाहालबीच हैदराबाद हाउसमा भेटवार्ता हुनेछ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुनेछन् ।

सोही दिन वा जेठ १९ मा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपती मुर्मूसँग भेट्ने कार्यक्रम छ । जेठ १९ मै प्रधानमन्त्री दाहाल मुम्बई जाने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौं फर्कनेछन् ।

गृहकार्यका लागि परराष्ट्रमन्त्री साउदले पूर्वपरराष्ट्रमन्त्रीहरू, भारतका लागि पूर्वराजदूत तथा विज्ञहरू र पूर्वपरराष्ट्र सचिवहरूसँग सुझाव लिइसकेका छन् । दुई मुलुकबीचका सीमा समस्या, सन्धि सम्झौता, द्विपक्षीय व्यापार, आपसी सहयोगलगायत विषयमा मुलुकको हितका लागि एजेन्डा तय गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूबाट बिहीबार र शुक्रबार सुझाव लिइसकेका छन् । नेपाल र भारतबीच सम्बन्धनमा उठेका प्रश्नहरूको सम्बोधन गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह ९ईपीजी० को प्रतिवेदन ग्रहण गर्नेबारे वार्ता गर्न पनि सुझाव दिएका थिए । साथै, दुई मुलुकबीच सम्बन्ध बलियो बनाउनुपर्नेमा उनीहरूको जोड थियो ।

परराष्ट्र मन्त्रालयले नेपालका तर्फबाट भ्रमणमा उठाउनुपर्ने विषयमा गहन छलफल भएको जनाएको छ । व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पर्यटन तथा सांस्कृतिक सम्बन्ध, जनस्तरलगायत विषयबारे छलफल गर्न पूर्वपरराष्ट्रमन्त्रीहरूलाई बोलाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर ताकेता गरे पनि भारतीय पक्षले ‘समय नदिएपछि’ उनको भारत भ्रमण बजेट प्रस्तुतपछि हुन लागेको हो । परराष्ट्र मन्त्रालयतर्फबाट दक्षिण एसिया महाशाखा प्रमुख रामप्रसाद सुवेदीको संयोजकत्वमा एजेन्डाहरूका बारेमा छलफल भइरहेको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव शंकरदास बैरागीले एजेन्डाबारे समन्वय गरेर गृहकार्य गरिरहेका छन् । कार्यालयबाट परराष्ट्रले वाणिज्य, ऊर्जा, भौतिक, रक्षा र कृषि मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका प्रतिनिधिसँग आ–आफ्नो मन्त्रालयको एजेन्डाबारे छलफल गरिसकेको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा केही नयाँ चिज नेपाललाई प्राप्त हुने र नेपाल–भारत सम्बन्धको आयाम पनि नयाँ ठाउँमा पुग्छ भन्ने विश्वास गरेको बताएका छन् । उनले कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करणको उद्घाटनका क्रममा कान्तिपुर परिसर थापाथलीमा शनिबार कुरा गर्दै भने, ‘सायद यो ९भ्रमण० राम्रो अवसर हो, नेपालका लागि पनि र भारतका लागि पनि । हामीले दुईपक्षीय सम्बन्धलाई बलियो पार्ने, दुईपक्षीय सहयोगका क्षेत्रहरूलाई नयाँ बनाउने । अहिले मैले धेरै भन्न उचित हुँदैन तर एउटा नयाँ इतिहास यो पटक रचिन्छ होला भन्ने विश्वासका साथ म भारत जाँदै छु ।’

दुई मुलुकबीच भ्रमणका दौरान हुन सक्ने साझेदारी र हुने छलफलको विषयमा परराष्ट्र मन्त्रालयले पनि गृहकार्य गरिरहेको छ । परराष्ट्र स्रोतका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको प्रस्ताव, १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता ९विद्युत् व्यापार र हाइड्रो कम्पनी०, ई–वालेटलगायत विषयमा छलफल गर्ने गृहकार्य भइरहेको छ ।

प्रधानमन्त्री भएलगत्तै दाहालले पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । त्यसैलाई मध्यनजर राखेर उनी चीनमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन गएका थिएनन् । उक्त कार्यक्रम चैत १४ देखि १७ सम्म चीनको हेनान प्रान्तमा भएको थियो ।

दाहालले प्रधानमन्त्रीका रूपमा यसअघि दुई पटक भारत भ्रमण गरिसकेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा भने पहिलो भ्रमण चीनबाट गरेका थिए । बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन उनी चीन गएका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए तर बेइजिङबाट फर्केलगत्तै उनले आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने दाबी गरेका थिए ।

दाहाल सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए । शनिबार कान्तिपुरसँगको कुराकानीमा भने प्रधानमन्त्री दाहालले प्रधानमन्त्री भएपछि भारतै जानुपर्छ भन्ने कुनै वैधानिक बाध्यता नभएको बताए ।‘त्यो एउटा भारतसँगको खुला सिमाना आर्थिक, राजनीतिक, सामाजिक र जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले त्यो युनिक छ, दुनियाँमा अन्त कहीं पनि यस्तो देख्न पाइँदैन । त्यस कारणले परम्परा बस्दै आयो । सबै त्यसै गर्नेजस्तो हुन गयो, एउटा कारण । तर, सधैं त्यस्तो हुँदैन भन्ने कुराको प्रमाण त म आफैं हो,’ दाहालको भनाइ थियो ।

उनले आफू पहिलोचोटि प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चीनबाटै गरेको बताए । ‘अहिले पनि मैले फेरि बाध्यताका कारणले या परम्पराका कारणले भनेर मात्रै होइन हाम्रो आवश्यकताको कारणले भारत भ्रमणमा जानुपर्छ भन्ने उचित लागेको छ र भारत भ्रमणको तयारी राम्रो छ । यो पटक भारतले अलिकति ‘ऊ’ नगरेको हो कि भनेर पनि सोध्नुभयो, त्यस्तो होइन । भारत पनि भ्रमणको तयारीमा गम्भीर भएर लागेको मैले महसुस गरेको छु । नेपालतिर पनि हामीले गम्भीर रूपले नै गरेका छौं ।’

प्रधानमन्त्री दाहालले भारतकै चुनाव इत्यादिका कारणले आफ्नो भ्रमण केही दिन पोस्टपोन्ड भएको पनि बताए । ‘अब बजेट पछाडि मात्रै हुन्छ भनेर मैले नै भनेको हो र अहिले गम्भीर तयारी दुवैतिर भएको छ,’ प्रधानमन्त्री दाहालले भनेका थिए ।