काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजियो भने त्यो सह्य नहुने बताएका छन् ।
पार्टीको जनसंगठन समन्वय संयन्त्रले आज ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको जनसंगठन पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको कुनै संलग्नता नरहेको र कसैले जबरजस्ती मुछ्न खोजे एमालेले नसहने बताएका हुन् ।
‘पार्टीभित्रका कसैले त्यो काममा संलग्नता जनाएको ठहरिए त्यस्ता व्यक्तिलाई कारबाही गर्न एमाले स्वयम् अग्रसर हुन्छ र कारबाही गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मिडिया प्रयोग गरेर, करकाप गरेर मानिसलाई नाम उच्चारण गर्न लगाएर नेकपा एमालेलाई मुछ्न खोजिन्छ भने एमालेलाई सह्य हुँदैन ।’