पर्वतको बगरफाँट र म्याग्दीको बेनी जोड्ने बेलिब्रिज चार महिनामै बन्यो – Himalayan Dainik

पर्वतको बगरफाँट र म्याग्दीको बेनी जोड्ने बेलिब्रिज चार महिनामै बन्यो


पर्वतको बगरफाँट र म्याग्दीको बेनी जोड्ने बेलिब्रिज चार महिनामै बन्यो

पर्वत – पर्वतको जलजला गाउँपालिका र म्याग्दीको बेनीबजार जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बेलिब्रिज चार महिनामै बनेको छ। जलजला गाउँपालिका–२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्ने पुल चार महिनामै निर्माण भएको हो ।

कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती गएको दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो । गएको फागुन अन्तिम हप्तादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो ।

दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित भएका बगरफाँटरवासी पुल निर्माण कार्य सम्पन्न भएसँगै उत्साहित भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सब ओभरसियर सनम शाहीले जानकारी दिए ।

सडक सञ्जालबाट विच्छेद हुँदा बगरफाँटका करिब तीन सय घरधुरीले दैनिक उपभोग्य वस्तु भरियालाई रकम तिरर झोलुङ्गे पुलबाट ल्याउने गर्थे । बेलिबिज्र निर्माण भएसँगै बगरफाँट सिधा सडक सञ्जालमा जोडिएको बगरफाँटका विज्ञान शर्माले बताए ।

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलन गर्दै आएका थिए । कालीगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता नगरेसम्म चुनावमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

पूर्वमन्त्री पदम गिरीको पहलमा सडक विभागसँगको समन्वयमा तत्कालका लागि बेलिब्रिज निर्माण गर्ने र त्यही ठाउँमा पक्की मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन भएको थियो ।

बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजलाको वडा नं १ बाँसखर्क, वडा नं ५ लेखफाँट, वडा नं ६ शालिजा र वडा नं २ को माँझफाँटमा यातायात सेवा सञ्चालन हुने भएको छ । – रासस