काठमाण्डौ – नक्कली शरणार्थी प्रकरणमा प्रहरीले बनाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
आज दिउँसो जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको हो । अब प्रतिवेदनमा भएका प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।
प्रतिवेदनमा ३३ जनालाई ठगी, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग गरी तीन वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीसहित १६ जना पक्राउ परेका छन् ।