नक्कली भुटानी शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुङ्गोमा पुर्‍याउँछौँ : गृहमन्त्री श्रेष्ठ – Himalayan Dainik

नक्कली भुटानी शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुङ्गोमा पुर्‍याउँछौँ : गृहमन्त्री श्रेष्ठ


नक्कली भुटानी शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुङ्गोमा पुर्‍याउँछौँ : गृहमन्त्री श्रेष्ठ

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन ।
बुधवार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताले नक्कली शरणार्थी प्रकरणको सत्यरतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन । उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ति आर्जन गर्ने कुरा सङ्गठित अपराध भएको बताए । यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।

उनले भने , ‘नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा सङ्कलन गरी सम्पत्ति आर्जन गर्ने कुरा सङ्गठित अपराध हो । कुनै प्रकरण विना पूर्वाग्रह छानबिन गर्न, निर्दोष फस्न नहुने र दोषी उम्किन हुँदैन भनेर काम र छानबिन गर्न निर्देशन दिइएको छ । कुनै पनि दबाबमा वा कुनै पनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ । दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ ।’