पर्वत – जलजला गाउँपालिकाले सार्वजनिक स्थानमा सुर्ती, सुर्तीजन्य वस्तु र मदिराको बिक्री वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ।
जलजलाले सूचना जारी गरी विद्यालय, मठमन्दिर आसपासका क्षेत्रमा मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार नगर्न तथा नगराउन भनेको छ। ती क्षेत्रभित्र व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई अन्यत्रै सार्न सञ्चालन गर्नसमेत आग्रह गरेको छ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालय क्षेत्रभित्र सुर्तीजन्य तथा मादक पदार्थ सेवन गर्ने क्रियाकलापले विद्यार्थीमा नकरात्मक असर पर्ने बताए।
गाउँपालिका विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागिपरेको छ। विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि गाउँपालिकाले उक्त अभियानको सुरुआत गरेको हो।
विद्यालय वरपर रहेका पसलमा सुर्तीजन्य पदार्थ भएरनभएका बारेमा गाउँपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्ने उनको भनाइ छ।-रासस