रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो – Himalayan Dainik

रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो


रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइयो

काठमाडौँ – कीर्तिपुर नगरपालिका–२ स्थित प्यंगःथांमा राखिएको रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति हटाइएसँगै करिब १४ सय वर्षदेखि चल्दै आएको परम्पराले निरन्तरता पाउने वातावरण बनेको छ ।

कीर्तिपुर नगरपालिकाले स्थानीय दाफा भजन खलः, संस्कृतिप्रेमी, सञ्चारकर्मी र प्रहरीको सहयोगमा रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति आइतबार त्यहाँबाट हटाएको थियो । प्रतिमूर्ति हटाएसँगै रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्पराको निरन्तरताको लागि सहज अवस्था बनेको हो ।

सुखी गछें समाजको अग्रसरतामा गत मंसिर १५ गते सो प्रतिमूर्ति प्रस्थापना गरिएको थियो । प्रतिमूर्ति स्थापना गर्नुअघि ललितपुरको महाबौद्ध परिसरमा एक समारोहका बीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सो मूर्ति हस्तान्तरण गरेपछि सयौं भक्तजनको लावालस्करसहित मूर्ति कीर्तिपुरतर्फ लगिएको थियो ।

महानगरपालिकाको करिब १७ लाख रुपियाँको सहयोगमा सो मूर्ति प्रसिद्ध मूर्तिकार एवं सम्पदा अभियन्ता रवि शाक्यले बनाउनुभएको थियो । त्यसपछि रातो मच्छिन्द्रनाथको नित्यपूजा गर्ने पुजारीहरूको संगठन श्री हयगृव भैरवनाथ तथा ३२ पानेजु संघ, बुं∙मतीले सो मूर्ति नहटाएसम्म यसपटकको जात्रामा आफूहरू फूल–प्रसाद लिएर प्यंगःथां नजाने अडान लिएपछि प्रतिमूर्तिको विवाद उत्पन्न भएको थियो ।