रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’ – Himalayan Dainik

रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’


रातो मच्छिन्द्रनाथको रथयात्रामा सुरक्षाकर्मी ‘हाई अलर्टमा’

ललितपुर – बुंगद्यः अर्थात् ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरी प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सुरक्षा प्रबन्ध गर्दै आएको छ । रातो मच्छिन्द्रनाथको रथयात्राका पछिल्ला वर्षहरूदेखि सुरक्षा व्यवस्थापनको हिसाबले गृह मन्त्रालय र प्रहरी मुख्यालयको समेत मुख्य चासो रहने गरेको छ

यसले गर्दा रातो मच्छिन्द्रनाथ रथयात्रा केन्द्रित सुरक्षा योजना तयारी गरी त्यसको कार्यान्वयन गर्दै आएको हो । सुरक्षाको गर्नुपर्ने विषय, सम्भाव्य जोखिम, सडकको संरचना, मानिसको घनत्वलगायत विविध पक्षले सुरक्षा व्यवस्थामा पार्न सक्ने असरको आधारमा सुरक्षा चुनौतीलाई विश्लेषण गरी सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार मच्छिन्द्रनाथको रथमा श्री मच्छिन्द्रनाथको मूर्तिसहित विभिन्न बहुमूल्य मूर्ति, बहुमूल्य धातु, गरगहनाको सुरक्षा, रथयात्रामा हुने भीडभाडमा मानिसको जीउधनको सुरक्षा र मानिस आस्था र विश्वासअनुसार जात्रा पर्व मनाउने दिने गरी तीनवटा पक्षलाई हेरेर सुरक्षा योजना तयार गरिएकोे थियो । पहिला, रथयात्राको समयमा हुने जीउधनको सुरक्षा, ३२ हात लामो रथ तान्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबाट मानिसलाई बचाउनेतर्फ सुरक्षा केन्द्रित रहेको छ । यसका लागि रथ तान्ने बेला रथको दायाँबायाँ प्रहरीहरू खटिएको छ ।