पुराना प्रविधिमा रहेका १० चलचित्रको ‘डिजिटाइजेसन’ – Himalayan Dainik

पुराना प्रविधिमा रहेका १० चलचित्रको ‘डिजिटाइजेसन’


पुराना प्रविधिमा रहेका १० चलचित्रको ‘डिजिटाइजेसन’

काठमाडौं – चलचित्र विकास बोर्डले पुराना १० चलचित्रको ‘डिजिटाइजेसन’ र ‘रेष्टोरेसन’को काम सकेको छ।

सेल्युलाइड प्रविधिमा रहेका चलचित्र आमा, के घर के डेरा, बदलिँदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँले जानकारी दिए।

डिजिटाइजेसन गरेसँगै ती चलचित्र अङ्ग्रेजी भाषामा सबटाइटल पनि गरिएको छ। ‘डिजिटाइजेसनसँगै ती चलचित्रको रिल रेष्टोरेसन गरेर राखिएको छ। रेष्टोरेसनले एट के वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिनेछ। हामीले सरकारी लगानीमै निर्मित १५ घन्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेसन गरेका छौँ’, उनले भने।

रेष्टोरेसन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँ जस्तै बनाइन्छ। त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ। पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको लगानीमा बनेका चलचित्रलाई डिजिटाइजेसन गरिएको छ। डिजिटाइजेसन भएपछि सोह्र एमएम र ३५ एमएमका ती चलचित्र टु के र फोर के ढाँचामा छन्।

नेपालमा चलचित्रको इतिहासलाई आम सर्वसाधारणसम्म पुर्‍याउन चलचित्र सङ्ग्रहालयको स्थापना गर्ने प्रक्रियाको थालनी भएको बोर्डले जनाएको छ। अधिकृत गुरागाईँका अनुसार साउथ एसियाका देशमध्ये छिमेकी मुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेसन तथा रेस्टोरेसन गर्ने देश नेपाल हो। पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिललाई सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याएपछि डिजिटाइजेसनको सुरुआत भएको अधिकृत गुरागाईँले जानकारी दिए।

सन् २०२१ को मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘डिजिटाइजेसन’ गरिएको दुई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो। २०७५ भदौ २८ सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेसन र रेष्टोरेसनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पोरेसन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो। – रासस