मुख्यमन्त्री अधिकारीको आरोप– सङ्घीय सरकारले नचाहिँदो काम गर्‍यो – Himalayan Dainik

मुख्यमन्त्री अधिकारीको आरोप– सङ्घीय सरकारले नचाहिँदो काम गर्‍यो


मुख्यमन्त्री अधिकारीको आरोप– सङ्घीय सरकारले नचाहिँदो काम गर्‍यो

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र हालको जिसस (जिल्ला समन्वय समिति)जस्तो हुने जनाउँदै उनले कर्मचारी समायोजनमा अझै पनि समस्या रहेको बताए ।

सङ्घीय सरकारले सयौँ टुक्रे योजना आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको उनले टिप्पणी गरे । निजी क्षेत्रसँग मिलेर पुँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उनले बताए ।

कालीगण्डकी ‘डाइभर्सन’को विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ रु उत्तरगङ्गा परियोजना सुनको अण्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने रु हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’

सङ्घीय सरकारका विभिन्न कानुनी अवरोधका कारण काम गर्न अप्ठेरो परेको जनाउँदै उनले जग्गाप्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठेरो परेको प्रष्ट पारे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पुँजीको लागत कम गर्नुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्रमैत्री व्यावसायिक वातावरण निर्माणको लागि पहल गर्न आग्रह गरे । पुँजीगत खर्च बढाउन, भौतिक पूर्वाधार निर्माणलाई गति दिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवर्द्धनका लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए ।-रासस