शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं:प्रधानमन्त्री प्रचण्ड – Himalayan Dainik

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं:प्रधानमन्त्री प्रचण्ड


शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौं:प्रधानमन्त्री प्रचण्ड

कास्की – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताएका हुन् । ‘विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताएका छन् । सरकारको प्रयासमा सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहने विश्वास उनले व्यक्त गरेका छन् ।