काठमाण्डौ – इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणको मनोमानीले इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएको छ ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान) का अध्यक्ष सुधिर पराजुलीले आज सोमवार विज्ञप्ति निकालेर इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिनुभएको हो । विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती पोल भाडा बढाएर मान अधिकारको समेत उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले विद्युत् नियमन आयोग, नेपाल दूरसञ्चार प्राधिकरण, उपभोक्ता मञ्च, सेवा प्रदायक सबैलाई बेवास्ता गरी पोलको भाडा छ सयदेखि सात सय प्रतिशतसम्म बढाएको आईस्पानको गुनासो छ ।
पोल भाडाको सम्बन्धमा गठन भएको उच्चस्तरीय समितिले दिएको प्रतिवेदन विद्युत् प्राधिकरणले कार्यान्वयन नगरेको पनि विज्ञप्तिमा जनाइएको छ । प्राधिकरणले पुरानै भाडा तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको भन्दै इन्टरनेट सेवा बन्द भएमा त्यसको जिम्मेवारी प्राधिकरणले नै लिनुपर्ने आईइस्पानले बताएको छ ।