नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा दाइजोबिना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोबिना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।
विवाहमा गरिने अनावश्यक खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए।
विवाहलाई दाइजोरहित बनाउन निकै चुनौतीपूर्ण भएका बेला यहाँका छ जोडी उदाहरण बन्नुभएको छु, उनले भने, महिला हिंसाको एउटा जडका रुपमा रहेको दाइजो प्रथाको उल्मुलनका लागि राम्रो सुरुवात हो।
सम्मानित हुनेमा सलाउद्दीन मन्सुरी र नाजमा खातुन, अशोक हरिजन र बविता हरिजन, पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, शैलेशकुमार कोइरी र निर्जलीकुमारी कोइरी, असिउद्दीन अन्सारी र अम्जाहान खातुन छन्। सम्मानित हुने जोडी पंकज गिरी र मनिषा गिरीले आफूहरु सधैभरी कुप्रथाको विरुद्धमा रहेको बताए।
सम्मान कार्यक्रमपछि पाल्हीनन्दन-६ लंगडीपाकडदेखि वडा-५ विसुनपुरा भन्सार चोकसम्म सचेतना र्याली निकालिएको थियो।
