काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आफ्नो चुनावी खर्च पेश गरेका छन् ।
शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा लामिछानेले चुनावी खर्च पेश गरेका हुन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका लामिछानेले ११ लाख ८१ हजार ४७२ रुपैयाँ बराबरको चुनावी खर्च पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
लामिछाने सबैभन्दा धेरै मतान्तर कायम गरेर विजयी हुने उम्मेदवारमा पहिलो नम्बरमा छन् । उनी ४९ हजार ३०० मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाए । लामिछाने ३४ हजार ३१२ मतान्तरका साथ निर्वाचित भएका हुन् ।
निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु प्रावधान छ। सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ।