काठमाडौँ – प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार धनगढी गएका छन । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा धनगढी गएका हुन । उनले महोत्सव उद्घाटन गरेका छन् । सो अवसरमा देउवालाई आयोजकले १५ किलोको माला लगाइदिएका छन् ।
प्रधानमन्त्री देउवा हालसम्म लडेका सबै चुनाव (सातपटक) जित्ने एक्ला नेता हुन् । उनी ४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट विजयी भएका थिए ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा महोत्सवको भएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा आयोजना गरिएको महोत्सव उद्घाटन कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, प्रतिनिधि सभा सदस्य दिल्लीराज पन्त, तारा लामा तामाङ, प्रदेशका मन्त्रीहरू सहभागी छन् ।
यस्तै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरू, प्रदेशका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।