प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय – Himalayan Dainik

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय


प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय

काठमाण्डौ – संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ ।

मंसिर ४ गते भएको चुनावको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । चुनाव परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान् रु भन्ने चासो र चिन्ता छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताए ।

उनले प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय भइसकेको बताए। उनले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरु भने अधिवेशन शुरु भएपछि त्यही अवस्थाबाट शुरु हुने बताए।

राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरु १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरु भने निस्क्रिय भइसकेको बताउनु भयो । उहाँले यदि सरकारले तिनै विधेयकहरु ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनुपर्ने र ती विधेयकहरुको पुनः नयाँ प्रक्रिया शून्यबाट शुरु हुने बताए ।

उहाँले भन्नुभयो, ‘संघीय संसदको एक कार्यकाल पूरा भएको छ । यो चरणमा संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भएका छन् । प्रतिनिधि सभामा उत्पादित भएर प्रक्रियागत रुपमा रहेका र प्रतिनिधि सभामा विचाराधीन रहेका विधेयकहरु निस्क्रिय हुने भन्ने व्यवस्था छ । तर राष्ट्रिय सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधिन रहेका विधेयकहरु १२ वटा छन् । ती विधेयकहरु विचाराधीन अवस्थामा नै छन् । अधिवेशन शुरु भएपछि जुन अवस्थामा रहेका छन्, त्यही अवस्थाबाट शुरु हुन्छन् । ती भन्दा बाहेकका अरु सबै विधेयकहरु निस्क्रिय भए । यदि सरकारले तिनै विधेयकहरु ल्याउन चाह्यो, फरक ढंगले ल्याउन चाह्यो वा कुनै पनि विधेयक संघीय संसदमा दर्ता गर्न ल्याए फेरि ती विधेयकहरुको नयाँ प्रक्रिया शुरु हुन्छ । जिरोबाट शुरु हुन्छ । राष्ट्रिय सभाबाट आएका राष्ट्रिय सभाबाट नै अघि बढ्छन्, प्रतिनिधिसभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्छन् ।’

सहायक प्रवक्ता धमलाले विधेयकहरु राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए ।