चिसो बढेसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र – Himalayan Dainik

चिसो बढेसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र


चिसो बढेसँगै सुनसान बन्दै सगरमाथा क्षेत्र

काठमाडौँ  – विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र बिस्तारै सुनसान बन्दै गएको छ। पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो।

केही समय अघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु अहिले सुनसान बनेका छन्। पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ परेका यहाँका होटल व्यवसायीहरुलाई समेत यतिखेर फुर्सद मिलेको स्थानीय होटल व्यवसायी दामु शेर्पाले बताइन्।

केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त छ। सिजनमा आवातजावतसमेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सिमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए।

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक अनुसार पछिल्लो एक सातामा १३ सय ९० जना पर्यटक भित्रिदा २१ सय ७ जनाले खुम्बु छोडेका छन्। सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक न्यून रहेको निकुञ्जका सुचना अधिकारी मनोज मण्डलले जानकारी दिए। पर्यटकको अवगमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ।

सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालकहरु बाहिर निस्कने गरेका छन्। यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन्। सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर,भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ।