विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै :जर्मनी र स्पेनबीचको खेल राति पौने १ बजे – Himalayan Dainik

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै :जर्मनी र स्पेनबीचको खेल राति पौने १ बजे


विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै :जर्मनी र स्पेनबीचको खेल राति पौने १ बजे

काठमाण्डौ –  फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिका नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् ।

एसियाको पावर हाउस मानिने जापानले पहिलो खेलमा जर्मनीलाई २–१ गोलले हराएको थियो । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । आज हुने दोस्रो खेलमा समूह ‘एफ’ को बेल्जियम र मोरक्को बेलुका पौने ७ बजे खेल्दैछन् ।

पहिलो खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराएको थियो । मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्व कप अन्तर्गत आजको तेस्रो खेलमा राति पौने १० बजे क्रोएसिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै चौथो खेलमा समूह ‘ई’ का जर्मनी र स्पेन खेल्दैछन् । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।