काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान गोदावरी नगरपालिका १ अत्तरियास्थित भट्टको निवासमै पुगेर धम्की दिएको आरोपमा दुई जना समातिएका हुन्।
भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पाण्डेयले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका २ बस्ने दीपेन्द्र विक रहेका छन्।
दुवै जना अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको बताइएको छ। उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए।
घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू? तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्की दिएको ओझाले बताए। ‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर कहाँ छ ? मन्त्री त्यसलाई ठीक पार्छौँ भन्दै धम्की दिएछन्,’ उनले भने, ‘म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ,मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु।’