जनतामा जाँदा उत्साह र उमंग आएको छ : भुसाल – Himalayan Dainik

जनतामा जाँदा उत्साह र उमंग आएको छ : भुसाल


जनतामा जाँदा उत्साह र उमंग आएको छ : भुसाल

काठमाडौँ – नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् उर्जा मन्त्री पम्फा भुसालले मतदाताको घरदैलोमा जाँदा तपाई पार्टी र देशको नेतृत्व गर्ने अवस्थामा पुग्दै हुनुहुन्छ भन्ने प्रतिक्रिया पाएको बताएकी छिन् । आफू जनतामा जाँदा एक प्रकारको उत्साह र उमंग पाएकाले विजयी हुने भुसालको दाबी छ ।

‘मतदाताले मलाई तपाईं जतिको उम्मेदवार कुनै पार्टीमा छैनन् भनेर भन्नुहुन्छ । तपाई भोलि पार्टी र देशको नेतृत्व गर्न सक्ने अवस्थामा पुग्दै हुनुहुन्छ भनेर मतदाताले भनिराख्नुभएको छ’ भुसालले भनिन्, ‘उहाँहरूले तपाईँ जस्तो उम्मेदवारलाई छाडेर अन्यलाई विजयी गराउन सक्दैनौँ भनेर स्पष्ट भन्नुभएको छ । मतदाताले आफूले जिताएको जनप्रतिनिधि जहिले पनि भेट्न सक्ने, सहज पहुँच भएको खोज्नुहुन्छ । त्यो सहजता म जत्तिको अन्य उम्मेदवारसँग छैन भन्ने मेरो दाबी हो ।’

आफू सांसद र मन्त्री हुँदा जे जस्तो भूमिका निर्वाह गर्न सक्छु त्यो अन्य उम्मेदवारले नसक्ने भुसालको ठोकुवा छ । ‘जनतामा मैले एक प्रकारको उत्साह र उमङ्ग देखेको छु । जति मतदान गर्ने दिन नजिकिँदै छ, त्यति नै सिङ्गो मुलुक र जनतामा निर्वाचन लागेको छ । जनता र मतदातामा निर्वाचन प्रतिको आकर्षण छ’ भुसालले भनिन्, ‘नेताहरूलाई घरदैलोमा जाँदा आफ्नो मनमा लागेका कुरा भन्ने, स्थानीयको समस्या सुनाउने र उम्मेदवारसँग नजिकबाट साक्षात्कार गर्ने क्रम अघि बढेको छ । यसर्थमा हेर्दा निर्वाचनप्रति जनतामा उत्साह छ ।’ आफ्नो क्षेत्रमा खानेपानी, सडक, ढल र प्रदूषणको प्रमुख समस्या रहेको भुसालले बताइन् ।

‘यो क्षेत्र खानेपानीको प्रमुख समस्या देखिन्छ । यसअघिका निर्वाचनमा म घरदैलोमा हिँड्दा पुरुष महिलाहरूले खानेपानीको कुरा उठाउनुभएको थियो । यो पटक पनि उठाउनु भएको छ’ भुसालले भनिन्, ‘यसअर्थमा पनि खानेपानीको ठूलै समस्या छ । तर हामीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमार्फत मेलम्चीको पानी जनताको घर घरमा पुर्याइरहेका छौँ । मेलम्चीबाहेक अन्य खानेपानी स्रोतको उचित व्यवस्थापन गरी वितरणलाई प्रभावकारी बनाउँदै छौँ । धेरै ठाउँमा पाइप लाइनको विस्तार भइसकेको छ । चाँडै नै घर घरमा खानेपानी पुर्याउँछौँ ।’