ट्विटरले निलो टिकका लागि लिने भनेको शुल्कको निर्णय खारेज गर्यो – Himalayan Dainik

ट्विटरले निलो टिकका लागि लिने भनेको शुल्कको निर्णय खारेज गर्यो


ट्विटरले निलो टिकका लागि लिने भनेको शुल्कको निर्णय खारेज गर्यो

एजेन्सी – सामाजिक सञ्जाल ट्विटरको नीलो टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने निर्णय तत्कालका लागि खारेज भएको छ । अघिल्लो हप्ता ट्विटरका मालिक एलन मस्कले गरेको निर्णय तत्कालका लागि खारेज भएको हो ।

अमेरिकामा कयौँ नक्कली ट्विटर अकाउन्टहरूले ८ डलर तिरेर निलो अर्थात् ब्ल्यू टिक प्राप्त गरेको र भेरिफाइड ती अकाउन्टबाट फेक ट्विट हुन थालेपछि ट्विटरले शुक्रवारदेखि नै शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो। मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा निलो टिक सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्थे । तर नयाँ नियम लागू भएपछि ८ डलर खर्चेर जो कोहीले पनि निलो टिक लिन सक्ने भएको थियो ।

पैसा तिरेर निलो टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले दुई हप्ताअघि मात्रै ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका हुन ।

ट्विटरको पूर्ण स्वामित्व लिएपछि उहाँले नक्कली अकाउन्ट नियन्त्रण गर्नका लागि निलो टिकसहित प्रमाणित अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने निर्णय गरेका थिए । तर यो निर्णय व्यावहारिक नभएको भन्दै आलोचना हुँदै आएको थियो ।