मस्कले आजदेखि ट्विटरका कर्मचारी निकाल्न थाल्ने – Himalayan Dainik

मस्कले आजदेखि ट्विटरका कर्मचारी निकाल्न थाल्ने


मस्कले आजदेखि ट्विटरका कर्मचारी निकाल्न थाल्ने

एजेन्सी – सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आजदेखि सयौं कर्मचारीहरूलाई कामबाट निकाल्ने भएका छन्।

ट्विटरका कर्मचारीहरूलाई गरिएको आन्तरिक इमेललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार ठूलो संख्यामा कर्मचारी निकाल्ने प्रक्रिया मस्कले शुक्रबारदेखि थाल्ने भएका हुन्।ट्विटरमा अहिले ७ हजार ५ सयभन्दा बढी कर्मचारी छन्। मस्कले आधा कर्मचारीलाई कामबाट निकाल्न सक्ने जनाइएको छ।

शुक्रबारदेखि कर्मचारीहरूलाई ट्विटरले इमले गर्न थाल्नेछ। काम जारी राख्न पाउने कर्मचारीको अफिसियल इमेल ठेगानामा र जागिर छोड्नु पर्ने कर्मचारीलाई व्यक्तिगत खातामा इमेल आउने बताइएको छ।

ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ। ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए।

ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ।