सहुलियत दरमा खाद्यान्न बिक्री सुरू – Himalayan Dainik

सहुलियत दरमा खाद्यान्न बिक्री सुरू


सहुलियत दरमा खाद्यान्न बिक्री सुरू

काठमाडौं – दसैं र तिहारलाई लक्षितगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको छ । कम्पनीले सार्वजनिक सूचना जारी असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए ।

उनका अनुसार जिल्ला सदरमुकाम मार्तडी र पूर्वी उत्तरी भेगका चार पालिकाका लागि कोल्टी डिपोबाट खाद्यान्न बिक्री थालिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले अरुवा मोटा चामल प्रतिकिलो रु ४१ र जिरा मसिनो प्रतिकिलो रु ६१ दरले मार्तडी र कोल्टीबाट बिक्री थालिएको कम्पनी प्रमुख ओझाले जानकारी दिए ।

चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्यअनुसार चामलमा प्रतिकिलो रु सात छुट दिएको शाखा प्रमुख ओझा बताउछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा अहिले एक हजार दुई सय क्विन्टल र कोल्टी डिपो शाखाका लागि एक हजार तीन सय क्विन्टल चामल बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।