काठमाण्डौ – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्ने माग गरेकी छिन ।
आज मङ्गलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताइन । उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने भन्दै नागरिकले तिरेको करबाट सेवा सुविधा लिनेहरू शासक नभइ सेवक भएको बताइन ।
ृउनले भनिन , ‘दुई दिन अगाडिमात्रै हो, एक जना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । उनले यसमा सार्वजनिकरूपमा माफी माग्नुपर्छ । राजीनामा त उनले दिनुहुन्न मलाई थाहा छ तर सार्वजनिकरूपमा माफी माग्नुपर्छ । किनभने हामी सेवक हौँ । शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ ।’
सांसदहरूले विधि बनाउने भन्दै उनले विधि उल्लङ्घन गर्ने पनि उनै विधि बनाउनेहरू नै भएको टिप्पणी गरिन । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि उनले सरकारको ध्यानाकर्षण पनि गराएकी हुन ।