पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाऔँ : कुलमान घिसिङ – Himalayan Dainik

पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाऔँ : कुलमान घिसिङ


पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाऔँ : कुलमान घिसिङ

काठमाडौँ –  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयात घटाउन पेट्रोल र ग्यास छाडेर विद्युतीय उपकरणको प्रयोग बढाउन अनुरोध गरेका छन्। भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले यस्तो अनुरोध गरेका हुन्।

विद्युत् खपत बढाए ग्यास र पेट्रोलियम पदार्थको आयत घट्ने उनले बताए। घिसिङले भने, ‘सबै चिज इलेक्ट्रिसिटीमा कन्भर्ट गर्ने हो भने ३० देखि ४० अर्बको बिजुली यहाँ खपत हुन्छ। तर, पाँच खर्बको आयात बन्द हुन्छ। अब हामीले गर्ने परिवर्तन भनेको नेपालको आयात बन्द गर्ने हो।’

ग्यास र पेट्रोलियमभन्दा विद्युत् सस्तो हुने उल्लेख गर्दै उनले प्राधिकरणले देशैभर चार्जिङ स्टेसन राख्न लागेको जानकारी दिए। ‘ग्यास र पेट्रोलियम पदार्थको प्रयोगभन्दा विद्युतको प्रयोग पनि सस्तो छ। अहिले हामी चार्जिङ स्टेसन देशैभरि राख्दै छौँ,’ घिसिङले भने। उनका अनुसार विद्युतीय गाडीमा एक रुपैयाँ लगानी गर्दा एक किलोमिटर यात्रा गर्न सकिन्छ भने पेट्रोलियम पदार्थको प्रयोग गर्दा एक किलोमिटरमा २० रुपैयाँ खर्च हुन्छ। भन्सामा इन्डक्सन चुलो ग्यासभन्दा ६० प्रतिशत सस्तो हुने उनले बताए।