काठमाडौँ – नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताहरूले काँग्रेस केन्द्रीय कार्यालय सानेपाबाट कलम विद्रोह गर्दै काँग्रेस केन्द्रीय कार्यसमितिलाई समुहिक खुल्ला पत्र लेखेर खबरदारी गरेका छन् । नेविसंघको वैधानिक पूर्णता र महाधिवेशनको सुनिश्चितताका लागि खबरदारी गर्न कलम बोकेर काँग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका संघका सयौँ नेता, कार्यकर्ताले सामूहिक रूपमा केन्द्रीय कार्यसमितिलाई खुल्ला पत्र लेखेका हुन् ।
पार्टीको मेरुदण्ड र प्रमुख सङ्गठित शक्तिको स्रोत रूपमा रहेको नेविसंघलाई एक जना व्यक्तिमा सीमित गरी सिङ्गो संगठनलाई बन्धक बनाउने काम भएको उनीहरुले आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय समितिले साउन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन ।