विश्वविद्यालयका समस्या समाधान गर्न राजनीतिक पूर्वाग्रह त्याग्नुपर्छ : प्रधानमन्त्री – Himalayan Dainik

विश्वविद्यालयका समस्या समाधान गर्न राजनीतिक पूर्वाग्रह त्याग्नुपर्छ : प्रधानमन्त्री


विश्वविद्यालयका समस्या समाधान गर्न राजनीतिक पूर्वाग्रह त्याग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

आज ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि राजनीतिक पूर्वाग्रहबाट माथि उठ्नुपर्ने बताए ।

उनले भने, ‘विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिएका छन् । तालाबन्दी र हड्तालले विश्वविद्यालयका समस्या समाधान हुँदैन, ‘राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गर्न जरुरी छ ।’

प्रधानमन्त्री देउवाले शैक्षिक विकासको लागि सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताए । उनले गुणस्तरीय शिक्षा समाजको विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शंकरदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

देउवाले क्याम्पसलाई अध्ययनको लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषद्मा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताए ।