पर्यटनमन्त्रीले गरे पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात – Himalayan Dainik

पर्यटनमन्त्रीले गरे पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात


पर्यटनमन्त्रीले गरे पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गरेका छन । मन्त्री श्रेष्ठले काठमाण्डौको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट अभियान सुरु गरेका हुन । सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । पर्यटन पुनरुत्थानका लागि क्लिन नेपाल र ग्रीन नेपाल अभियान नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो ।

मन्त्रालयले पर्यटन सम्बद्ध सार्वजनिक निकाय, पालिका तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सार्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रबर्द्धनमा सघाउ पुर्‍याउने उनले बताए ।