काठमाडौं – संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ ।
राष्ट्र संघमा रहँदा विश्वले चिनेका ठूला नेतादेखि राष्ट्र एवं सरकार प्रमुखहरुसँगका वार्तालगायतका दुर्लभ अनुभवहरु समेटिएको ‘कुलचन्द्र गौतमः आत्मकथा’ लाई पब्लिकेशन नेपालयले तयार पारेको हो ।
विश्व इतिहासलाई प्रभावित पारेका महत्वपूर्ण घटनामा गौतमका भोगाइ र संघर्ष समावेश पुस्तक अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुने पब्लिकेशन नेपालयले जनाएको छ ।
एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समावेश छ ।
