काठमाडौँ – रुपन्देहीमा मिटरब्याजबाट पीडित भएका २८ जनाले उजुरी हालेका छन् । रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा उनीहरुले उजुरी दिएका हुन् । सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि कार्यदल गठन गरेको थियो ।
डा.भीष्मकुमार भूसाल नेतृत्वको कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरेको थियो ।
सोहीअनुसार रुपन्देहीमा पनि २८ जना मिटरब्याज पीडितहरुले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।
मिटरब्याज पीडितले दिएको उजुरीबारे के कसरी अनुसन्धान तथा कारवाही अघि बढाउने भन्नेबारे भने गृहप्रशासनले कुनै निर्देशन दिइसकेको छैन । उक्त कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुने पाण्डेले बताए । भदौ ५ गतेपछि भने उजुरी लिएर कोहीपनि जिल्ला प्रशासन कार्यालय नआएको उनले बताए ।
