काठमाडौं – अनलाइन पत्रकार संघले नयाँ सदस्यता आवेदन खुला गरेको छ ।
संघको विधानबमोजिम योग्यता पुगेका सम्पूर्ण अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले सदस्यताका लागि आवेदन दिन सक्ने संघले बताएको छ । पत्रकारहरूले आगामी असोज मसान्तभित्र अनामनगरस्थित कार्यालयमै पुगेर वा संघको ई–मेल ठेगानामामार्फत आवेदन दिन सक्ने छन् ।
संघको नयाँ सदस्यता लिन कम्तीमा दुई वर्षदेखि अनलाइन पत्रकारिता गरेको, अन्यत्रबाट नेपाल पत्रकार महासंघको सदस्यता नलिएको र कम्तीमा तीन वटा बाइलाइन समाचार लेखेको हुनुपर्ने छ । यसरी आवेदन दिँदा एक हजार रुपैयाँ शुल्क तोकिएको पनि संघले जनाएको छ ।
यस्तै संघले नवीकरण गर्न छूटेकाहरूलाई पनि यथाशीघ्र कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ । तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्नेहरूको सदस्यता स्वतः खारेज हुने छ ।
साथै अन्यत्रैबाट नेपाल पत्रकार महासंघको सदस्यता लिइसकेकाहरूले संघमा सदस्यता सार्न सक्ने संघले जानकारी दिएको छ ।
