रुसले युक्रेनमा ठूला आक्रमण गर्ने जोखिम, बिहीवारसम्म सामूहिक कार्यक्रम नगर्न जेलेन्स्कीको निर्देशन – Himalayan Dainik

रुसले युक्रेनमा ठूला आक्रमण गर्ने जोखिम, बिहीवारसम्म सामूहिक कार्यक्रम नगर्न जेलेन्स्कीको निर्देशन


रुसले युक्रेनमा ठूला आक्रमण गर्ने जोखिम, बिहीवारसम्म सामूहिक कार्यक्रम नगर्न जेलेन्स्कीको निर्देशन

रुसी आक्रमणको डरका कारण युक्रेनमा आउँदो बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ ।

पर्सि बुधवार युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसर पारेर रुसले ठूला आक्रमण गर्न सक्ने भन्दै युक्रेन सरकारले सामूहिक कार्यक्रम नगर्न निर्देशन दिएको बीबीसीले जनाएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा भोलि मङ्गलवार बेलुकादेखि बिहीवार बिहानसम्म कर्फ्यु पनि घोषणा गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशको स्वतन्त्रता दिवसको अवसरमा रुसले थप क्रुरता प्रदर्शन गर्न सक्ने चेतावनी दिनुभएको छ । राजधानी किएभबाट रातको दैनिक सम्बोधनमा बोल्दै जेलेन्स्कीले मस्कोले युक्रेनमाथि थप अनियन्त्रित आक्रमण गर्न सक्ने र दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पक्राउ परेका युक्रेनी सेनालाई मुद्दा चलाउन सक्ने जोखिम रहेको पनि उल्लेख गर्नुभएको छ ।

रुसले कब्जा गरेका सबै क्षेत्र छिट्टै पुनः आफ्नो नियन्त्रणमा ल्याउने र उसको आतङ्कलाई दण्डित गर्ने पनि राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको छ । रुसले आक्रमण थालेको पनि संयोगले पर्सि नै ६ महिना पूरा हुँदैछ ।