मङ्कीपक्स मानिसबाट कुकुरमा सरेको पाइयो, थप चिन्तित बनाएको डब्ल्यूएचओको भनाइ – Himalayan Dainik

मङ्कीपक्स मानिसबाट कुकुरमा सरेको पाइयो, थप चिन्तित बनाएको डब्ल्यूएचओको भनाइ


मङ्कीपक्स मानिसबाट कुकुरमा सरेको पाइयो, थप चिन्तित बनाएको डब्ल्यूएचओको भनाइ

पछिल्लो समय तीव्र गतिमा फैलिइरहेको मङ्कीपक्सको सङ्क्रमण मानिसबाट कुकुरमा सरेको पाइएको छ । फ्रान्सको राजधानी पेरिसमा दुई जना पुरुषसँग बस्दै आएको कुकुरमा मङ्कीपक्सको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठनलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

जनावरमा सङ्क्रमण सर्नु निकै गम्भीर विषय भएको भन्दै डब्ल्यूएचओले सङ्क्रमितबाट जनावरलाई टाढै राख्न भनेको छ । जङ्गली जनावरमा यो सङ्क्रमण फैलिएमा अवस्था भयावह हुन सक्नेछ ।

डब्ल्यूएचओका मङ्कीपक्सका विज्ञ रोजामुन्ड लुईसले पहिलो पटक कुकुरमा मङ्कीपक्स सरेको घटनाले जोखिम झनै बढाएको बताए । उनले विशेषगरी कुकुर, बिरालो र घरेलु मुसासँग धेरै घुलमिल नगर्न सुझाव दिएको खबरमा उल्लेख छ । विभिन्न क्षेत्रका र उमेर समूहका मानिसअनुसार मङ्कीपक्सका विभिन्न भेरिएन्ट पनि फैलिएको विषयले पनि चिन्ता थपेको जनस्वास्थ्यविद्ले जनाएका छन् ।

सन् १९५८ मा डेनमार्कको बाँदरमा पहिलो पटक देखिएको मङ्कीपक्स सन् १९७० मा मानिसमा सरेको पत्ता लागेको थियो । अहिले ९२ देशका ३५ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स फैलिएको छ भने १२ जनाको ज्यान गइसकेको छ । गएको हप्तामात्रै सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले बढेको छ ।