काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि नेपाली कांग्रेसलाई पालिका चुनावकै हैसियतमा पुर्याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गरेका छन । कांग्रेस नेतासमेत रहेका मन्त्री कार्कीले देशको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई देशको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आउँदो चुनावबाट पाउने गरी तयारीमा जुट्नुपर्ने बताए ।
बुधवार काठमाण्डौमा पालिका चुनाव निर्वाचित पार्टीका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले देशको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारूढ गठबन्धनको विकल्प नभएको दाबी पनि गरे । आउँदो चुनावमा पनि पाँच दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले पालिका चुनावमा पार्टीले हासिल गरेको सफलता प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि हासिल गर्नुपर्ने बताए ।
