महाअभियोग सिफारिस समितिको बैठक बस्दै – Himalayan Dainik

महाअभियोग सिफारिस समितिको बैठक बस्दै


महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं –  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।

१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । त्यतिबेलादेखि उनी निलम्बनमा परेका छन् ।

जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार बुधबार बस्ने बैठकको एजेण्डा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने छ । साथै समितिको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुनेछ । बुधबारबाटै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।