काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ ।
सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जूमाको काम गरेको छ । मिति घोषणापछि तयारीका लागि आयोगलाई एक सय सात दिन समय उपलब्ध छ ।
निर्वाचनका लागि खर्च करिब रु १० अर्ब लाग्ने र कूल मतदाता सङ्ख्या करिब एक करोड ८२ लाख हुने आयोगको अनुमान छ । मतदाता नामावली अद्यावधिक कार्य प्रारम्भ, मतदानस्थलको पुनरावलोकन र समानुपातिकतर्फको निर्वाचन कार्यक्रम पनि स्वीकृत गरिसकेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा आयोगले अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि सूचना प्रकाशित गरी आह्वान समेत गरी सकेको छ । आगामी निर्वाचनमा करिब १० हजार आठ सय २५ मतदानस्थल र अस्थायीबाहेक करिब २२ हजार ५०० मतदानस्थल रहने छन् ।
