भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट – Himalayan Dainik

भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट


भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै आज सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।

बोर्डको अध्यक्षमा आवेदन दिएका नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै आज दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो । रिटमाथि सोमबार पेसी तोकिएको छ ।

केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नियुक्ति प्रक्रिया बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले केसीविरुद्ध रिट निवेदन दायर भएको जानकारी दिए ।उहाँ (भुवन केसी) विरुद्ध रिट निवेदन दायर भएको छ, कागजपत्र हेर्दैछु,’ पौडेलले भने ।

केसीको शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण मात्र छ । तर, विकास बोर्ड अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्छ । केसीविरुद्ध अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले काठमाडौं जिल्ला अदालतमा हालेको दुव्र्यवहारसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ । केसीविरुद्ध विकास बोर्डमै दर्जनौं उजुरी परेका छन् ।