नयाँ सहर योजना मन्त्रिपरिषदमा – Himalayan Dainik

नयाँ सहर योजना मन्त्रिपरिषदमा


नयाँ सहर योजना मन्त्रिपरिषदमा

काठमाडौँ – राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी सहरी आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिए । शङ्खरापुर नगरपालिका– ९, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २, ३ र ४ गोकर्णेश्वर नगरसपालिकाका–१, २ र ४ गरी आठवटा वडाका खाली जग्गामा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ नमूना सहर बनाउने योजना तीन वटै नगरपालिकाले पारित गरी संयुक्त संयन्त्र निर्माण गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ सहर निर्माणको काम भइरहेको छ । यस क्षेत्रको २३ हजार रोपनी क्षेत्रफल जग्गामध्ये बस्ती एवं जङ्गल क्षेत्र छोडेर १६ हजार रोपनी क्षेत्रफलमा नयाँ सहर निर्माण गर्न लागिएको हो । जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाको छ ।