चुनावका लागि एमालेले दल दर्ता गरायो – Himalayan Dainik

चुनावका लागि एमालेले दल दर्ता गरायो


चुनावका लागि एमालेले दल दर्ता गरायो

काठमाण्डौ – नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोलीले आज मङ्गलवार काठमाण्डौको कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । संविधान र कानुनी व्यवस्थाअनुसार आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि दर्ता गराउने काम गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी दल दर्ता गरेसँगै निर्वाचनको तयारीमा पनि विधिवत् रूपमा प्रवेश गरेको बताए ।

त्यस अवसरमा महासचिव पोखरेलले एक पटक दर्ता भइसकेको दल पटक–पटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रियासमेत दिए । यद्यपि हरेक निर्वाचनअघि दल दर्ता गराउनुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते आइतवारका दिन हुने निर्वाचन प्रयोजनका लागि यही साउन ३१ गते कार्यालय अवधिभित्र सबै राजनीतिक दललाई दल दर्ताका लागि आह्वान गरेको थियो । त्यहीअन्तर्गत एमाले महासचिव पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताले आयोग पुगेर दल दर्ता गराउनुभएको हो ।