भरतपुरको विकासको लागि निरन्तर अघि बढिरहेकी छु : रेनु दाहाल – Himalayan Dainik

भरतपुरको विकासको लागि निरन्तर अघि बढिरहेकी छु : रेनु दाहाल


भरतपुरको विकासको लागि निरन्तर अघि बढिरहेकी छु : रेनु दाहाल

काठमाडौँ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताएकी छिन ।

भरतपुर आँखा अस्पतालले आज सोमवार आयोजना गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रूत गतिमा अघि बढेको बताएकी छिन । भरतपुरलाई देशको नमुना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित लागिपरेको उनको भनाइ थियो । ‘हामी कहिले पनि थाकेका छैनौँ’, उनले भनिन , ‘निरन्तर गतिका साथ अघि बढेका छौँ । थाक्नेवाला पनि छैनौँ । रोकिनेवाला पनि छैनौँ । विकासका लागि सकेको कोसिस गरिराखेका छौँ । लागिपरेका छौँ ।’

मेयर दाहालले भरतपुर विमानस्थल विस्तार गर्न बनेको कार्यदललाई १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिएकी छिन त्यस्तै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामलाई अगाडि बढाउन कार्यदल बन्दै गरेको र कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउने उृनको भनाइ छ । यी दुवै कामलाई अगाडि बढाउन मन्त्रिपरिषदबाट निर्णय गर्ने गरी काम अघि बढेको मेयर दाहालले उल्लेख गरिन ।

भरतपुरबाट अबको केही समयमा विषेशज्ञसहितको स्वास्थ्य सेवा लिन स्वदेशबाट मात्रै नभइ छिमेकी देशबाट पनि बिरामी आउने सम्भावना बढेको उनको धारणा थियो । ‘भरतपुरमा दुई ठूला मेडिकल कलेज, भरतपुर केन्द्रीय अस्पताल, दक्षिण एसियामा सेवा दिने क्यान्सर अस्पताल र ठूला निजी अस्पतालहरू रहेका छन्, अब केन्द्रीय शिक्षक अस्पताल, आयुर्वेद अस्पताल र प्राकृतिक चिकित्सालय निर्माण भएपछि सबै सेवा भरतपुरबाट पाइन्छ’, मेयर दाहालले भनिन ।

भरतपुर आँखा अस्पतालले विशेषज्ञ र गुणस्तरीय सेवा प्रवाह गरी प्राप्त गरको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेसँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाइ थियो । भरतपुर आँखा अस्पतालले यो गुणस्तर चिह्न प्राप्त गरेर भरतपुर महानगरपालिकालाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको भन्दै उनले खुसी व्यक्त गरिन । भरतपुर महानगरपालिका र भरतपुर आँखा अस्पतालबीच राम्रो सहकार्यको नमुना प्रस्तुत भइरहेको भन्दै मेयर दाहालले आँखा अस्पतालको गुणस्तर विकासमा महानगर सहयात्री बन्ने बताएकी छिन ।