स्वास्थ्य बिमा कार्यक्रमको समस्या समाधान गर्न सांसद संग्रौलाको माग – Himalayan Dainik

स्वास्थ्य बिमा कार्यक्रमको समस्या समाधान गर्न सांसद संग्रौलाको माग


स्वास्थ्य बिमा कार्यक्रमको समस्या समाधान गर्न सांसद संग्रौलाको माग

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न माग गरेकी छन् । स्वास्थ्य बिमा कार्यक्रमको भविष्य अन्योलमा परेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नै त्यो समस्या समाधान गर्नका लागि पहल लिन उनले आग्रह गरेकी हुन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद संग्रौलाले सरकारी अस्पतालले नै स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
स्वास्थ्य बिमा पनि स्थगित गर्ने हो भने चुनावमा जनप्रतिनिधि के योजन लिएर जनताको घरदैलोमा जने हुन् भन्ने प्रश्न पनि सांसद संग्रौलाको थियो । जनताको घरदैलोमा जवाफ दिँदा के भनेर जवाफ दिने हो भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै स्वास्थ्य बिमा कार्यक्रम नियमित गर्न माग गरेकी हुन् ।

सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा अन्तर्गत सम्पूर्ण सेवासुविधामध्ये स्वास्थ्य बिमा सबभन्दा सजिलो र उपयोगी सेवा भएको भन्दै उनले सरकारको आलोचना पनि गरेकी थिइन् ।

ुआम नागरिकको अप्रत्यासित आर्थिक जोखिम कम गर्ने एकमात्र बलियो र उपयुक्त माध्यम स्वास्थ्य बिमा हो । तर, स्वास्थ्य संस्थाहरूको मानवीय तथा प्राविधिक क्षमता वृद्धि गरेर आम जनतालाई भरपर्दो सेवा उपलब्ध गराउनुपर्नेमा सरकारले नै भुक्तानी रोक्ने काम अत्यन्त गैरजिम्मेवार काम हो , उनले भनिन् ।

निजी अस्पतालमा सर्वसाधारणको पहुँच नभएको र सरकारीमा भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध नभएको भन्दै उनले स्वास्थ्य बिमा कार्यक्रम कायम राख्न सुझाव दिइन् ।