काठमाडौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन । नेपाली कांग्रेस व्यास नगर समितिले आज आइतवार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे ।
‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो’, वरिष्ठ नेता पौडेलले भने , ‘देशका लागि सधैँभर लागिरहन्छु ।’ स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उनले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभएको चर्चा गरेका हुन । गाउँमै रोजगारी र गाउँमै आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले मानिस सहरतिर विस्थापित भइरहेका छन् तर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए ।
‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन’, पौडेलले भने , ‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ ।’
