काठमाडौ – काभ्रे जिल्लामा तीन वर्षपछि लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । पाँचखाल , धुलिखेल र पनौती गरि हाल तिन क्षेत्रमा रोगको संक्रमण फैैलिएको छ ।
पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन् । पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार सङ्क्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ ।
उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए । ‘हाम्रो टिमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नेछ’, उनले भने ।
यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
