काठमाडौँ — नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम अनियमितता र सत्ताको दुरुपयोग भएको जनाएको छ । शुक्रबार नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयमा आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर भएको बताएका हुन् ।
भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ,आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग हो ।ु
वित्तीय अनुशासन र खर्च प्रणालीका हिसाबले गम्भीर आर्थिक अपचलन र पदीय दुरुपयोग भएको भट्टराईको आरोप छ । यस सवालमा अख्तियार तथा महालेखा परीक्षक कार्यालयको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनले बताएका छन् ।
सेनिटरी प्याडको भन्सार छुट कसलाई ?
त्यस्तै सरकारले सेनेटरी प्याडमा लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशायी बनाएको पनि भट्टराईले बताएका छन् । यस प्रकरणमा सरकारी नेतृत्व नै नीतिगत भ्रष्टाचारमा संलग्न भएको उनको भनाइ छ । उनले भनेका छन्,आम महिलाहरुले प्रयोगमा ल्याउने सेनिटरी प्याडका सन्दर्भमा सरकारले लिएको नीतिले राष्ट्रिय उद्योगलाई धराशायी मात्र पारेको छैन, राष्ट्रघात पनि गरेको छ । सरकारी नेतृत्व नीतिगत भ्रष्टाचारमा संलग्न भएको ज्वलन्त प्रमाण पनि हो ।ु
सरकारले आर्थिक वर्ष ०७९र८० को बजेटमा सेनेटरी प्याड आयातमा ९० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको थियो । तर, तयारी विदेशी प्याडको भन्सार १५ प्रतिशतबाट घटाएर १.५ प्रतिशत बनाउँदा पनि सरकारले स्वदेशी उद्योगलाई आवश्यक कच्चा पदार्थ आयातमा भने ३० प्रतिशतसम्म भन्सार कायम राखेको छ । यसले स्वदेशी उद्योग धराशायी बन्ने उद्योगीहरूले बताउँदै आएका छन् ।
