गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको विश्वभरबाट स्वास्थ्य लाभको कामना भएको छ ।
नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका आबेलाई सुरक्षाकर्मीले तत्कालै खुला ठाउँमा लगेका थिए । केहीबेरपछि एअर एम्बुलेन्सबाट अस्पताल लगिएको र उहाँको होस् आउन नसकेको समाचारमा उल्लेख छ ।
विश्वभरका नेताहरुले आबेको स्वास्थ्य लाभको कामना गरेका छन् । जी(२० सम्मेलनको क्रममा इन्डोनेसियामा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाको निन्दा गर्दै आबेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बान्स, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेन, ताइवानका राष्ट्रपति इङ वेन, थाइल्यान्डका उपप्रधानमन्त्री, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ, भारतीय कांग्रेसका नेता राहुल गान्धी, फिलिपिन्स, मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री लगायतले जापानी पूर्व प्रधानमन्त्री आबेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई पक्राउ गरेको छ । जापानमा गोली प्रहारका घटना निकै कम हुने गरेको अवस्थामा पूर्व प्रधानमन्त्रीमाथि नै आक्रमण हुनुलाई निकै गम्भीरताका साथ लिइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । जापानमा हाते बन्दुक र पेस्तोलमाथि प्रतिबन्ध छ ।
